गुगल
२१औं शताब्दीले दोस्रो दशकमा यात्रा गरिरहँदा सूचना प्रविधिले हरेक क्षेत्रलाई कायपलट गरिरहेको छ । मानिसहरु लाइनबाट अनलाइनमा प्रवेश गरिरहेका छन् । सेवा दिने र लिने सबै अनलाइनमा आउन थालेका छन् ।
त्यतिमात्रै होइन पछिल्लो पुस्ता हरेक कुराको जानकारीका लागि अनलाइनमै भर परिरहेका छन् । इन्टरनेटको ब्राउजरमा आफूलाई चाहिने सूचना खोज्नु प्राय सबैको दैनिकी बनेको छ । तपाईंलाई चाहिएको यस्तो जानकारी तत्कालै उपलब्ध गराइदिने काम सर्च इन्जिनको हो ।
यस्ता सर्च इन्जिनले इन्टरनेटमा खोजिने हरेक सूचना सेकेन्डभरमै उपलब्ध गराउँछन् । तपाईंलाई इन्टरनेटमा सर्च गर्ने भन्ने बित्तिकै गुगल सर्चकै नाम दिमागमा आउँछ ।
हुन पनि गुगल विश्वका अधिकांश मानिसले मन पराएकाे सर्च इन्जिन हाे । २०२१ को जनवरीसम्म आइपुग्दा विश्वको ९१.८६ प्रतिशत सर्च इन्जिन मार्केट गुगलले लिएको छ । बिङ, याहु, बैडु जस्ता थुप्रै सर्च इन्जिनहरु इन्टरनेटमा उपलब्ध छन् ।
गुगलमा हरेक दिन ५ अर्ब ४० कराेडभन्दा बढी सर्च हुने गरेकाे छ । सर्च इन्जिनमा जसरी गुगलले आफ्नो दबदबा मच्चाइरहेको छ, अरु सर्च इन्जिनहरु उसको वरिपरि समेत पुग्न सकेका छैनन् । बरु दोस्रो स्थानका लागि गुगल बाहेकका कम्पनीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् ।
अहिले दाेस्राे स्थानमा रहेकाे माइक्राेसफ्टकाे बिङ विश्वमा२.७१ प्रतिशतले मात्र प्रयाेग गर्छन् । त्यस्तै याहू १.४६ प्रतिशत मानिसले मात्र प्रयाेग गर्छन् । यही तथ्याकंले बताउँछ कि गुगल सर्च इन्जिन याे व्यवसायका लागि बादशाह हाे ।
यसरी सर्च इन्जिन बिजनेशमा एकलौटी राज गरिरहेको गुगलले आफ्नो कमाईको मुख्य स्रोत नै यसलाई बनाइरहेको छ । अहिले ६० प्रतिशतभन्दा बढी अनलाइन विज्ञापन पनि गुगलबाटै आउँछ ।
इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको वृद्धिले गुगललाई झनै फाइदा पुगेकाे छ । बिङ, याहुजस्ता सर्च इन्जिनको व्यापार गुगलसँग तुलना गर्नै नसकिने छ । इन्टरनेटमा एकलौटी राज गरिरहेको गुगलले सर्च इन्जिनबाट फोटो, भिडियो, नक्सा, पुस्तक, तथ्यांक आदि पनि देखाउँछ ।
१६० भन्दा बढी स्थानीय भाषामा चलाउन मिल्ने सुविधा गुगलले दिएको छ । भिजिटर ट्राफिक, एसईओ, डिजिटल मार्केटिङ आधारमा गुगलले लाखौं वेबसाइटबाट क्रमबद्ध रुपले वेबसाइटहरुको इन्डेक्स गर्ने गर्दछ ।
गुगलले विभिन्न लोकल सर्च टुलहरु पनि विकास गरेको छ । गुगल माई बिजनेश, गुगल म्याप, गुगल पोस्ट जस्ता लोकल सर्च टुलहरुको विकास उसले गरेको छ । गुगलकै प्रडक्ट युट्युब भिडियो सेयरिङ वेबसाइट मात्रै नभएर सर्च इन्जिन समेत हो । अन्य सर्च इन्जिनहरुले पनि यस्ता लोकल सर्च टुल ल्याएका छन् ।